संसदीय सुनुवाइ बैठक सोमबार
Admin / 2014-05-18 06:45:06
नेपाल ब्युरो–जेठ ४, काठमाडौ ।
न्याय परिषदले सर्वोच्च अदालतका लागि गरेको न्यायाधीश सिफारिसको निर्णय पुर्नविचार गर्न नसकिने जनाएको छ ।
संसदीय सुनुवाई विशेष समितिलाई पत्र पठाएर परिषदले एक पटक सिफारिस भइसकेका न्यायाधीशहरुबारे पुर्नविचार गर्न कानुनअनुसार नमिल्ने प्रष्ट पारेको छ । साथै परिषदले सिफारिस भएका न्यायाधीशहरु स्वीकृत वा अस्वीकृत गर्ने जिम्मा संसदीय सुनुवाई समितिकै भएको जनाएको छ ।
न्यायाधीश सिफारिसको सम्बन्धमा विवाद भएपछि समितिले परिषदलाई नै छलफलको लागि आज विहान बोलाएको थियो । तर परिषदले आफू छलफलको लागि आउन नमिल्ने भन्दै पत्र पठाएको थियो । आज समिति कार्यालय सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा जेष्ठ सदस्य कुलबहादुर गुरुङगले परिषद्ले पठाएको पत्र पढेर सुनाउनुभएको थियो ।
न्याय परिषदले ‘विना प्रभाव स्वतन्त्र भई निर्णय गर्नु’ भन्ने बेहोराको पत्र पठाएपछि समितिका सदस्यहरुले विरोध जनाएका थिए । पत्रको यस भाषामा कांग्रेससहित सबै दलका सदस्यले आपत्ती जनाएका थिए ।
न्याय परिषदले गत वैशाख ९ गते सर्वोच्चका लागि न्यायाधीशहरु वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशम्सेर राणा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरेको थियो । उनीहरुमध्ये न्यायाधीशहरु वैद्यनाथ र ओमप्रकाश मिश्र बाहेक अरु सबैको वारेमा विवाद भएको छ ।
सुनुवाईको लागि पठाएको ३५ दिनभित्र नाम अनुमोदन नगरे स्वतः नियुक्ति प्रक्रिया अघि बढ्ने संवैधानिक प्रावधान छ ।
प्रकाशित मिति: 2014-05-18 06:45:06
प्रतिक्रिया: