२२ वर्षीया बार्सिलोनाका स्टार स्ट्राइकर नेयमार ब्राजिलले कोलम्बियासँग खेल्ने मैत्रिपूर्ण खेलमा कप्तानी गर्ने भएका छन्। आगामी शुक्रबार हुने खेलमा प्रशिक्षक डुंगाले नेयमारमा कप्तानीको जिम्मा लगाएका हुन्।
दोस्रोपटक ब्राजिलको प्रशिक्षण सम्हालेका डुंगाले कप्तानमा हुनुपर्ने सबै क्षमता उनीसँग रहेकाले टिमको नेतृत्व गर्न लगाएका हुन्। यसअघि डुंगाले पनि सन् १९९४ मा भएको विश्वकपमा ब्राजिलको कप्तानी समालेका थिए।
ब्राजिलमै भएको विश्वकप २०१४ मा टिमको कप्तानी समालेका थियागो सिल्भालाई प्रशिक्षक लुइस फिलिपे स्कोलारीले छानेका थिए।
बिहीबार आयोजना गरिएको एक कार्यक्रमा बोल्दै प्रशिक्षक डुंगाले भने, 'नेयमारलाई कप्तान बनाउने निर्णय पहिलेनै भइसकेको थियो,' उनले भने, ‘उमेरमा सानै भएपनि उनीसँग खेलाडीमा हुनुपर्ने सबै क्षमता छ।’
कप्तानको काम भनेको खेलमा स्तर बढाउने भएको भन्दै उनले त्यो क्षमता नेयमारमा मात्र भएको दाबी गरे।
यो निर्णयप्रति नेयमार पनि सकरात्मक रहेको भन्दै प्रशिक्षक डुंगाले नेयमारमा सन् २०१८ को विश्वकपको उपाधि जित्नसक्ने क्षमतासमेत भएको दाबी गरे।