काठमाडौं— मलेसियामा दुर्घटनामा परी घाइते भएका पर्वत
बाजुङका प्रेमबहादुर रेग्मीले तीन लाख ७२ हजार पाँच मलेसियन रिंगेट (करिब एक करोड १२
लाख रुपैयाँ) क्षतिपूर्ति पाएका छन्।
क्याराभान म्यानपावरबाट सन् २०१० जुलाई ७ मा मलेसिया पुगेका रेग्मी जेसिवाई एचडिडी कम्पनीमा आउटसोर्स कामदारको रुपमा कार्यरत थिए । सन् २०१२ जुलाई १२ माकम्पनीको काम सकेर होस्टल फर्कने बेला बस दुर्घटनामा परेका थिए । दुर्घटनामा परेका रेग्मीको दाहिने खुट्टा काटिएको छ ।
दुर्घटनामा परेको दुईवर्षपछि बस कम्पनीसँगको
कानुनी लडाइँ जितेपछि रेग्मीले क्षतिपूर्ति पाएका हुन् । उनले मलेसियाको बिमा कम्पनी
जुरिचबाट १७ हजार पाँच रिंगेट (पाँच लाख १० हजार एक सय ५०) र बस कम्पनीसँगबाट तीन लाख
५५ हजार रिंगेट (एक करोड ६ लाख ५० हजार) रुपैयाँ क्षतिपूर्ति पाएका हुन् ।
बिमा कम्पनीबाट विदेशी कामदार क्षतिपूर्ति
योजनाअन्तर्गत रेग्मीले बिमा रकम पाएका हुन् । रेग्मीले बिमा रकम सन् २०१३ मार्च २०
मा पाएका थिए । बस कम्पनीले क्षतिपूर्ति रकम समयमा नदिएपछि थप पाँच हजार रिंगेट हर्जाना
भरेको थियो । बस कम्पनीलाई अदालतले दुई महिनाअघि नै क्षतिपूर्ति दिन भनेपनि एक महिना
ढिलो गरी दिएको हो ।
दुर्घटना भएपछि रेग्मी कार्यरत कम्पनी र
मलेसियामा रहेका नेपाली व्यवसायीले बस कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए
। मलेसियाको जोहोरबारु अदालतले रेग्मीको पक्षमा फैसला सुनाउँदै क्षतिपूर्ति दिन निर्देशन
दिएको थियो ।
'कम्पनीको काम सकेर होस्टेलजाँदै गर्दा बस
दुर्घटनामा प¥यो । म होसमा आउँदा दाहिने खुट्टा थिएन,' रेग्मीले नागरिकसँग भने ।
उक्त रकमले के गर्ने भनेर अहिलेसम्म योजना
नबनाएको उनले बताए । 'शरीरको अंग नै गुमाएर पाएको रकमले रामै्र
काम गर्ने सोच छ,तर अलि पछि,' उनले भने ।
रेग्मीलाई कानुनी लडाइँ र भाषा अनुवादमा
सहयोग पुर्याएका व्यवसायी सुवास गिरीले वैदेशिक रोजगारीमा भएको दुर्घटनामा यति धेरै
रकम पाएको यो पहिलो घटना हुनसक्ने बताए । 'रेग्मीले
काम गर्ने मलेसियाको कम्पनीले कानुनी उपचारमा सघाएपछि हामीले पनि सहयोग गर्यौं,' उनले भने । रेग्मीले काम गर्ने कम्पनीले
उनी घाइते भएपनि क्षतिपूर्ति र बिमा रकम नपाएसम्म तलब दिएको गिरीले जानकारी दिए ।
रेग्मीलाई नेपालमा गरिएको बिमाबाट पनि रकम
भराउन पहल गरिएको छ । मलेसियामा रेग्मीलाई बिमा रकम भराउन सहयोग पुर्याएका अर्का व्यवसायी
वाइबी राईले नै नेपालमा बिमा गरिएको कम्पनीबाट रकम दिलाउन पहल गरिरहेका छन्।