सप्तरी, २८ असार । युवाहरु रोजगारीको लागि विदेश गएपछि सप्तरीमा धान रोपाइँका लागि कृषि मजदुरको अभाव भएको छ ।
धान रोपाइँ गर्ने समयमा पानी नपरेका कारण चिन्तित बनेका सप्तरीका किसान कृषि मजदुर नपाएपछि थप समस्यामा परेका छन् ।
मुलुकभित्र रोजगारी नपाएको भन्दै यहाँ गरिब, विपन्न समुदायका युवा रोजगारीका लागि विदेश गएका कारण खेतमा काम गर्ने मजदुरको अभाव भएको किसानले बताएका छन् ।
‘पहिला गाउँमा थुप्रै युवा कृषि मजदुरीमा जान्थे, तर अहिले त मजदुर भेट्नै गाह्रो भएको छ, सप्तरीको बोदे बर्साइनका किसान कुवेन्द्र यादव भन्नुहुन्छ ।
पहिल्ला गाउँमै मजुदरी गर्ने युवा थुप्रै पाइन्थ्यो, अहिले त मुस्किलले एक÷दुई मजदुर पाइन्छ’ सप्तरी मलेकका किसान चन्दर यादवले बताउनुभयो ।
गाउँका पुरुष मजदुर कमाउन विदेशतिर गए, महिला खेतमा हालो जोत्न र कोदालो चलाउन सकिरहेका छैन, त्यसैले खेती गर्नै समस्या भयो’ मलेठकै किसान नारायण महतो भन्नुहुन्छ ।
सप्तरीमा कुल ७० हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये बर्सेनि समयमा वर्षा नहुने र मजदुरको अभावमा अधिकांश खेतीयोग्य जग्गामा रोपाइँ हुन नसक्दा उत्पादन घट्दै आएको छ ।