काभ्रेको साँगामा मल्लकालिन निर्माण शैली झल्काउने घरहरुको बिशेष नमूना गाउँ बन्ने भएको छ । काभ्रेको साँगास्थित सरस्वती डाँडामा रहेको ५४ रोपनी क्षेत्रफलमा मल्ल कालको झल्को दिनेगरि ५० वटा घर बनिरहेका छन् । जसको बाहिरी स्वरुपमात्र हैन, भित्री निर्माण पनि मल्लकालको जस्तै हुने छ । काठमाण्डौमा बनेका पश्चिमा शैलीका हाउजिङको बिक्रि निराशाजनक रहेका बेला पुराना शैलीका घरहरुको बिक्रि थालिएको छ ।
“अब बन्न लागेका घरहरुमा चोटा, दलिन, थाम, बुईगल, पिढिको स्वरुप सृजना हुनेछ ।” योजनाका संयोजक रविन्द्र पुरीले भने- नमूना गाउँमा ढुङ्गेधारा, पाटी, चैत्य, मन्दिर, चौतारो पनि हुनेछन । बिभिन्न पाटीपौवा, बिद्यालय, मन्दिर पुननिर्माण गरेर भिन्न नाम बनाइसकेका पुरीले यो वस्तीमा परम्परा र सम्पदाका कुरा मात्रै रहने बताए ।
ढुङ्गा, इटा, माटो र डाँचीका भिन्न स्वरुपमा बन्ने अढाइ तले घर “लोड बेरिङ” पद्दतीमा आधारित हुनेछ । “व्यवसायभन्दा बढी सेवा र नमूना कामको अर्थमा यो योजना अघि सारेको हुँ” उनले भने – हाउजिङका नाममा आफ्नोपना र बास्तु शिल्पीलाई भुल्ने काम गरिनुहुन्न भन्ने मान्यता मैंले राखेको छु ।