नेपाल ब्युरो–साउन ४,काठमाडौँ ।
दैनिक उपभोग्य खाद्य पदार्थमा भएको कालाबजारी तथा पेट्रोलियम पदार्थमा भएको अनियमितताका विषयमा सभासदहरुले सरकारको ध्यानकर्षण गराएका छन् ।
सिंहदरबारमा आज बिहान उद्योग, वाँणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिमा भएको छलफलमा सभासदहरुले नेपालमा पेट्रोलियम पदार्थको अनियमितता भइरहने तथा चाडवाडको मुखमा दैनिक उपभोग्य खाद्य पदार्थको अभाव र कालावजारी हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
साथै उनीहरुले यसलाई रोक्न कडा निर्देशिका निर्माण गर्नुपर्नेमा समेत जोड दिएका छन् । बैठकमा आपूर्ति सचिव नारायण गोपाल मलेगुले पेट्रोलियम पदार्थ आपूर्तिका विषयमा नीति नियम निर्माण नहुँदा समस्या उत्पन्न भएको बताउनुभयो । साथै उहाँले अन्तराष्ट्रिय बजारभाउ घटवढ भईरहने भएकाले पनि पेट्रोलियम पदार्थको नियमिततामा असर पुगेको उल्लेख गर्नुभयो ।
त्यस्तै दैनिक उपभोग्य पदार्थको आपूर्तिका बिषयमा उहाँले खाद्य संस्थानले नै यसको सम्पूर्ण काम गर्ने बताउनुभयो ।