चितवनमा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा
Admin / 2014-07-25 03:15:45
चितवन, ९ साउन । गर्भवतीहरु शतप्रतिशत अस्पतालमा सुत्केरी हुन् भन्ने उद्देश्यले चितवनको बछौलीमा रहेको झुवानी सामुदायिक पुस्तकालयले गाविसमा रहेका गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा दिदैँ आएको छ ।
झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष केशवराज आचार्यले दिएको जानकारी अनुसार यस्तो अभियान चलाएसँगै घरमा सुत्केरी गराउने महिलाको संख्यामा निक्कै कमी आएको छ ।
कतिपय पैसाको अभावमा छटपटाइरहेका हुन सक्छन्, यस्तो जानकारी आएमा तुरुन्तै एम्बुलेन्स पठाएर उद्धार गर्ने गरिएको आचार्यले जानकारी दिए।
‘उपचारको अभावमा चितवनकै धेरै क्षेत्रमा अझै पनि गर्भवती महिलाको अकालमै ज्यान जाने गरेको छ । यस्तो समयमा पुस्तकालयले सराहनीय कार्य गरेको भन्दै स्थानीयले प्रशंसा गरेका छन्,’ उहाँले भन्नुभयो ।
यो वर्षबाट पुस्तकालयले गर्भवती महिलालाई घरघरमै पुगेर पहिचान गर्ने र उनीहरुको स्वास्थ्य अवस्था पत्ता लगाउने र यदि स्वास्थ्य प्रतिकूल भए तत्कालै अस्पताल लैजान सहयोग गर्ने गरेको स्थानीयले बताएका छन् ।
नेपाल सरकारले अस्पतालमा सुत्केरी गराउँदा महिलालाई भत्तासमेत दिने गरे पनि गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षण नगराउने र सुत्केरी गराउन कर्म मात्र अस्पताल जाने गरेका छन् ।
यस्तो बेला बछौलीमा भएको यस्तो अभियानले एउटा नयाँ सन्देश दिएको स्वास्थ्य स्वयम्सेविका अर्चना दवाडीको भनाई छ । सामुदायिक पुस्तकालयले समाजमा समेत विभिन्न कार्यक्रम सञ्चालन गरेर नमुना काम गरेको भन्दै अन्तर्राष्ट्रियस्तरको ‘पिपुल च्वाइस अवार्ड’ समेत जित्न सफल भएको छ ।
पुस्तकालयले निःशुल्क स्वास्थ्य परीक्षण, सामाजिक शिक्षा तथा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
प्रकाशित मिति: 2014-07-25 03:15:45
प्रतिक्रिया: