“रेख दाई पनि आउनु
भएको छ नि” एउटा टेलिफोन
सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक
लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा
कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन
नभएको भए,म अहिलेको अवस्थामा
हुने थिईनँ।”
भोलिपल्ट रेख
दाईसंग फोनमा कुरा भयो। दाईले भन्नुभयो “भाई,तपाईलाई त के गरें
र मैले,तपाईहरुले नै
राम्रो गर्नुभएको छ नि।”
फेरि मन थाम्न
सकिनँ, फेसबुकको भित्तामा
लेखें, “म आफ्नै खुट्टा
टेकेर हिंडिरहेछु,हिंडने त आफैले हो, तर बाटो देखाउनेहरु
महान हुन्छन....।”
म अहिले आफनै
खुट्टाले हिंडिरहेछु,बाटो देखाउने त रेख
ब्लोन हुनुहुन्छ। सबै बाटो सहि हुंदैनन, सबैले बाटो देखाउँछन भन्ने पनि हुंदैन।तर सहि बाटो देखाउने रेख ब्लोन
हुनुहुन्छ मेरो जिवनमा,त्यही बाटो
पहिल्याएर गन्तब्य ताकिरहेछु,यतिखेर म । उहाँहरुले पञ्चायति अंध्यारोलाई चिर्न सामाजिक र राजनितीक
जागरणको लागि गाएजस्तै,
धेरै नै टाढा छ,हामी पुग्ने ठाउँ
लगातार अघि बढदै
जाउँ
हामी हिँडने
गोरेटोमा लत्रिएका छन फुलहरु
हामी तर्ने
नदीहरुमा भत्किएका छन पुलहरु
फुलहरुलाई उठाउँदै
जाउँ
पुलहरुलाई बनाउदै
जाउँ
धेरै नै टाढा छ,हामी पुग्ने ठाउँ
निश्चय नै पुग्ने
गन्तब्य टाढा छ, तर म हिँडन छाडेको
छैन। गुच्चा खेलिरहेका थियौं हामीहरु त्यतिबेला।उहाँ टुप्लुक्क आउनुभयो,हामीसम्मुख।डरले
कालोनिलो भयौं।उहाँले भन्नुभयो, “लौ हातखुट्टा धोएर तयार होउ त”
कुरा के रहेछ भने
उहाँले हामीलाई स्कुलमा लगेर नाम लेखाईदिन लाग्नु भएको रहेछ।कठै मेरो नाम थिएन त्यसबेला।हेलोहोचो
गर्नेहरु मलाई “पुचुरी” भन्थे,माया गर्नेहरु “कान्छा”।मलाइ रेख ब्लोन
कान्छा भन्नुहुन्थ्यो,माया गर्नेहरुको
पंक्तिमा उभिएर ।परिवारका कही सदस्यहरुसंग सरसल्लाह गरेर उहाँले स्कुलमा मेरो नाम
लेखाईदिनुभयो,राजकुमार नाममा
।त्यही नाम मेरो पहिचान भएको छ यतिखेर ।
गएको चैत महिनाको
तेस्रो साता म भेडेटारमा आयोजित आधारभूत पत्रकारिता प्रशिक्षणको प्रमुख प्रशिक्षक
भएर गएको थिएँ।त्यही क्रममा घर निस्कँदा मैले मेरा एक जना बालसखालाई घर निर्माण
कार्यमा बेल्चा चलाउँदै गरेको देखेँ। सम्झे,यि साथीले एकदिनमा हद्दै भए पाँचसय रुपैयाँ कमाउलान। मैले तालिम दिए बापत
हवाई यतायात र आरामदायी होटल सुबिधासहित दैनिक पाँच हजार रुपैयाँ पारिश्रमिकको
सम्झौतामा तालिम दिन आएको छु।म आफू कार्यरत अखबार तथा कलेजले मलाई तलबी सुबिधामा
बिदा पनि दिएको छ।
यतिबेला सम्झे,मैले पढें,हतोत्साहित भईनँ।र
त, सुबिधा पाएँ।मेरा
अधिकाँश साथीहरु ड्रपआउट भए।आखिर रेख ब्लोनले गुच्चा खेल्दै गरेको मलाई स्कुलमा
नाम नलेखिदुनभएको भए? थाहा छैन के
हुन्थ्यो?
कम्तिमा पनि म
दालभातको चिन्ताबाट मुक्त हुंदै चिन्तनको चौतारीमा बसेर समाज र देशको बारेमा
सोच्ने भएको छु।कम्तिमा पनि यतिको अभिब्यक्ति गर्ने सामर्थ्य छ मसंग।
यी शब्दहरु रेख
ब्लोनप्रति समर्पित छन।तर यि शब्दहरु ओठे भक्तिका भजन होईनन,बरु जीवन जीउने
भरपर्दा लयहरु हुन।यी शब्दहरु चाकरीका भाकाहरु होईनन,यी त
स्वाभिमानप्रतिको सम्बोधन हुन।न यि शब्दहरु साहनुभुतिका खातिर पोखिएका याचनाहरु
हुन।दम्भका स्वर पनि होईनन,यि शब्दहरु।
मैले जिएको बिगतका
कुरा गरिसाध्यै छैन। मसंग अभावले चिथोरिएर बनेको घाउका खाटाहरु छन।मसंग समस्याको
पहाडले थिचिएर श्वासप्रश्वास रोक्न खोजेको कहालीलाग्दो अनुभुतिको संगालो छ।मसंग छ
आफ्नै घरका अगुवाहरुको नित्य सेवनका कारण सिर्जित शान्ति भंग भएर मन विलोलिएको
कैयौं घटनाका कहिले दुख्ने कहिले बल्झने ब्यथका फेहरिस्त। अनि आंखाअगाडि
नचिरहन्छ।आफ्नै परिवारभित्र मेरो पढाईबिरुद्द घोषित अघोषित असहयोगका अदुरदर्शी
आन्तरिक दुःखको दृष्यहरु। बिभेदले पिल्सिएका यातनाका अनगिन्ती अनुभुतिहरु छन, मसंग।कृपया यो,मेरो दुःखको
बिज्ञापन होईन ।
संघर्ष हो जीवन,जीवन संघर्ष हो
जीवनदेखि थाकेर
बस्छु नभन
जीवनदेखि हारेर
मर्छु नभन
रातपछि दिन हुन्छ
हेर बिहान...
ममा उब्जन थालेको
प्रारम्भिक सांगीतिक चेतनाले समातेको पहिलो गीत हो,रेशम फिरिरि।अनि सांगितीक चेतनाभित्र रेकर्ड भएको
गीत हो,उल्लेखित
हरफ।कल्पना गर्थे,यो गीत म र मजस्तै
दुःख र पीडामा रमाउन सक्ने पात्रहरुको लागि लेखिएको हो।यो गीतभित्रको दर्शन
पहिल्याएँ मैले।यो गीतले भन्छ,घाम अस्ताउनका लागि उदाउँदैन,बरु उदाउनका लागि अस्ताउँछ।
सम्झन्छु,पेटमा मुसा
दौडाउँदै छिन्न लागेको रबरको चप्पलमा तय गरिएका यात्राहरु।कहिले बर्षा र
हिउँदभर एउटै स्वेटर अनि कहिले हिउँद र
बर्षाभरि एउटा पातलो हाफ सर्टले लाज ढाकेर स्कुले जीवन छिचोलेको क्षणहरु। किताब,कापी र कलमको अभाव
। शुल्क तिर्न नसक्दा नाम काटिएका मात्रै होईन,८० रुपैयाँको अभावमा झण्डै सेन्ट अप दिन नपाएको ति क्षणहरु बिर्सेको छैन
मैले।यि शब्दहरु लेखिरहदा विगतप्रति हीनताबोध होईन,गौरव लाग्छ। मैले त्यतिखेर सम्झें,मेरा दुःखहरु
अस्थायि हुन।
कुनैदिन यी कहरबाट
मुक्त भएर समय मेरो अनुकुल हुनेछन। मेरा आँखाबाट बहेका नुनिला ढिक्काहरु सेता
दन्तलहरको पुलिन्दा फुकाउने फुकाउने गुलाबी ओंठमा परिणत हुनेछन ।
हो,म अहिले
हाँसिरहेछु। त्यसैले म बाँचिरहेछु। मैले बिचलन र पलायनको बाटो रोजिनँ।रेख ब्लोनले
दर्शाउनुभएको मार्ग पहिल्याउँदा धैर्यताको डोरीलाई चुँडिन दिईनँ।म त्यही मार्गमा
हिँडिरहेछु अहिले पनि,उत्साहले पाईलाहरु
उचाल्दै,हाँस्दै,खेल्दै र रमाउँदै।
बिहानको समय कलेजमा पढाउँदा म हाँसी हाँसी पढाउछु,नाची नाची पढाउँछु।सकेसम्म रेख ब्लोनले कोर्न
सिकाउनुभएको जीवनको रेखा उनीहरुलाई पनि कोर्न सिकाउँछु।
कुनैदिन
लक्ष्मिप्रसाद देवकोटाले भने, “ उद्देश्य के लिनु उडी छुनु चन्द्र एक।”उनले यसो के भनेका थिए,अमेरिकाका निल
आर्मस्ट्रङले चन्द्रमा छोए। मसंग त्यो महात्वाकांक्ष छैन,न मसंग छ त्यत्रो
आँट र क्षमता।म त यही धर्तीमा भएको सगरमाथाको आधार शिविरसम्म पुग्ने प्रयास
गर्दैछु।
म जीवनवादी भएर
बाँच्न चाहन्छु। भबिष्यप्रतिको आशा मार्न चाहन्नँ। प्रगतिको नाममा दौडने कुरा मेरा
निम्ति प्रियकर छैनन। एकदिन धरानमा भेटिनुभएका पुराना वामपन्थी कार्यकर्ता पारसमणि
सुब्बाले भनेको कुराले अहिले मनमा छोईरहेछु। उहाँले भन्नुभएको थियो,“हिँडने मान्छे
पुग्छ। दौडने नपुग्न नि सक्छ। उ बीच बाटोमा लडन वा थाक्न पनि सक्छ।”
रेख दाई,म बिस्तारै
हिँडिरहेछु। न त म अब्राहम लिङ्कन हुं न मेरो उनको जस्तै हैसियत छ। तर ममा उनको
दर्शनलाई आत्मसात गर्ने अधिकार छ। उनले भनेका छन, “आई वाक स्लो,बट आई नेभर वाक ब्याक।”म गन्तब्यमा पुग्ने प्रयत्न गर्दैछु,तपाईहरुले जीवन जीउन पञ्चायतकालमा गाएजस्तै जीवन देखि थाकेर बस्छु भन्दिन,जीवनदेखि हारेर
मर्छु भन्दिन।
संयोगबश एक जना
वामपन्थी कार्यकर्तासंग भेट भयो । चिनापर्ची साटिए। उनको नाम रहेछ,गोबिन्द पराजुली, झापा जिल्लाको
धुलाबारी गाविसका पुर्बउपाध्यक्ष। मैले आफ्नि घर बताएँ।
“धनकुटाको रेख ब्लोन
चिन्नुहुन्छ”,उनी उत्साहित भए।“अरे उहाँ त मेरा
श्रद्देय दाजु हुनुहुन्छ,उहाँले नै मलाई
स्कुल भर्ना गरिदिनुभएको नि” मैले सगौरव भनें।
अनि उहाँले एउटा
गीत गाउनुभयो,मैले पनि साथ दिएँ,
हाम्रा गीत
सुनिरहेका सा-साना भाईबैनी हो
आजैदेखि सोच ठूलो
भएपछि तिमी के-के हुने हो?
कारखानामा काम
गर्ने मजदुर हुन्छौं कि
खेतीपाती राम्रो
गर्ने किसान हुन्छौ कि
बिरामीलाई ठिक
पार्ने डाक्टर हुन्छौ कि
चेतनाको दियो
बाल्ने शिक्षक हुन्छौ कि
आजैदेखि सोच ठूलो
भएपछि तिमी के के हुने हो...।
रेख ब्लोन धुलाबारी
माध्यमिक बिद्यालयमा शिक्षण अभ्यासका लागि जानुभएको रहेछ,२०३३३४ सालमा। गोविन्द
पराजुलीलाई यो गीतले असाध्यै छोएछ।“त्यसपछि हो नि हौ,हामी वामपन्थी भएको”,उनी नोस्टाल्जिक
भए।
मैले पनि कलिलो
उमेरमा यही गीत सुनें।दाई,तपाईहरु हामीजस्ता
कलिला मस्तिकहरुलाई बेजोडले प्रभाव पार्ने गीत गाउनुहुन्थ्यो ।
साना-साना ढुङगा
माटो मिली अग्लो पहाड हुन्छ
साना-साना खोलाखोली
मिली ठूलो सागर बन्छ
सानोले नै ठुलो
हुन्छ
आज रुने केटाकेटी
भोली देश हँसाउने हुन्छ...।
मैले देशलाई हँसाउन
नसके पनि देशलाई रुवाएको छैन। देशलाई हानि गरेको छैन। तपाईहरुले यी गीत
गाईदिनुभयो। हामीलाई सुनाउनुभयो।यी गीतको गेडी मेरो जीवनको लय बन्यो।मेरा
बालसखाहरुले बीचैमा पढाई छाडे,मैले निरन्तरता दिएँ। एउटा धुस्रेफुस्रे केटोलाई स्कुलको आगन टेकाउने त
तपाई ने हो नि।यति बोल्न सक्ने हैसियत बनाउन आधार तय गर्ने त तपाई नै हो नि।
त्यसैले मैले तपाईलाई सम्बोधन गरें। रिसानी माफ होला ।
(नेपाल पत्रकार
महासंघका पुर्बकेन्द्रीय सदस्य लेखक अन्नपुर्ण पोस्ट दैनिकका बरिष्ठ संवाददाता तथा
पासाङ ल्हामु कलेज सामाखुशीका उपप्रध्यापक हुन।)