मन परेको जुत्ता पो जुत्ता। नत्र खाली खुट्टै ठीक छ नि।।।। यो संवाद अहिले कलेज, चिया एवं पानपसल, होटल, रेस्टुराँदेखि गफका हरेक अखडामा चर्चामा छ। संवाद हो, चलचित्र कबड्डीको। रामबाबु गुरुङ निर्देशित यस चलचित्रले लोभलाग्दो व्यवसाय गरेको छ। यसअघि अनागरिक, ब्लक लिभ, सी मालाजस्ता चलचित्र निर्देशन एवं एक दर्जनजति वृत्तचित्र निर्देशन गरेका गुरुङले कबड्डीबाट वाहवाही बटुलेका छन्। यसबारे निर्देशक रामबाबु गुरुङसँगको संक्षिप्त कुराकानी :
चलचित्र हिट हुँदा कस्तो अनुभूत हुँदो रहेछ ?
यो खुसीको विषय हो। तर, नेपाली चलचित्रमा चलचित्र हिट हुनु निर्देशनभन्दा पनि निर्माताका लागि ठूलो खुसीको विषय बन्छ।
के कारणले चलचित्र कबड्डीलाई दर्शकले रुचाएजस्तो लाग्छ ?
खासगरी संवाद, कथा र लोकेसन मन पराएको पाएँ। हामीले पात्रमाथि जति मेहनत गस्यौं त्यो चलचित्र सफलताको कडी बन्यो। चलचित्रमा देखिइरहने अनुहार खासै छैन नि ? हामीले गरेकै त्यही हो। कथाले खोजेको, स्थानीयता र मौलिकतालाई न्याय गर्नसक्ने कलाकार लिएका हौं।
तपाईंलाई यो कथाले कसरी लोभ्यायो ?
खासगरी यो मुस्ताङका थकाली समुदायको कथा हो। फुपूचेला मामाचेली चल्ने यस समुदायको जीवनशैली र सामाजिक परिस्थितिलाई मेहनतका साथ प्रस्तुत गरिएको हो। हरेक समुदायमा यस्तै लोभलाग्दा कथा छन्।
सुरुमा कथा र स्क्रिप्ट तयार गर्दा चलचित्र यत्तिको बन्ला भन्ने लागेको थियो?
मलाई कस्तो लाग्योभन्दा पनि चलचित्र तयारीका क्रममा जति कलाकार सहभागी थिए, सबैलाई उत्साहित बनाएको थियो। त्यस कारण दर्शकले पनि मन पराउलान् भन्नेचाहिँ लागेको थियो।
कबड्डीलाई मूलघार भनिने चलचित्रभन्दा पृथक् भन्न मिल्ला ?
मेरो बुझाइमा जुन चलचित्रलाई दर्शकले मन पराउँछ, त्यो नै मूलधार हो। विषयवस्तुका दृष्टिले हेर्ने हो भने जुन चलचित्रमा हाम्रो मौलिक कथावस्तु हुन्छ, त्यसलाई मूलधार भनिनुपर्छ। यहाँ धारको व्याख्या नै गलत भइरहेको छ।
चलचित्रमा काजी र मैयाँको विवाह दोस्रो भागलाई राखेको हो ?
परम्परागत शैलीको चलचित्र भएको भए अन्त्यमा काजी र मैयाँको विवाह हुन्थ्यो। तर, निर्देशकको सोचले कथा भन्ने शैलीलाई फरक पार्छ। कबड्डीमा भएको त्यही हो।
कथा त छाडिएको छ नि ?
काजीको व्यवहार सुध्रन समय लाग्छ। सोल्टिनीलाई पाउन ऊ लागिरहेकै छ। मैयाँ ९सोल्टिनी० सहरबाट फर्केर गाउँमै पढ्न थालेकी छ। यस अर्थमा दोस्रो भाग बन्ने ठाउँचाहिँ छ।
सुरुदेखि नै सांस्कृतिक धार टेकेर चलचित्र बनाउनुको कारण ?
नेपाली फिल्म मेकरले गर्नुपर्ने नै यही हो। नेपाली चलचित्रको शक्ति मौलिकता नै हो। म सानैदेखि सांस्कृतिक क्षेत्रमा काम गरेकाले मलाई चलचित्र बनाउन मौलिक विषय, कुनै समुदायको कथा चाहिन्छ। त्यसलाई कलात्मक स्वरूप दिएर व्यावसायिक बनाउने हो।यो कुरा कबड्डीले पनि पुष्टि गरेको छ।
चाहेर पनि गर्न नसकेका कुनै पक्ष ?
चलचित्रमा सधैं स्रोतसाधनकै कुरा आउँछ। हामीसँग स्रोतसाधन सीमित थियो। तर, सिंगो टिमले सिर्जनशील र पारिवारिक वातावरणमा काम गस्यौं। स्रोत र प्राविधिक रूपमा हामी कमजोर थियौं होला तर भावनात्मक रूपमा एक भएर काम गरेकाले राम्रो परिणाम ल्याएको हो।