२० असार, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री बामदेव गौतमको अध्यक्षतमा मन्त्रिपरिषदको नियमित बैठक शुक्रवार दोस्रो पटकट बसेको छ । प्रधानमन्त्री सुशील कोइराला उपचारका क्रममा अझै केही समय अमेरिकामै रहनुपर्ने भएपछि नियमित काम रोकिन नदिन कार्यवाहक प्रधानमन्त्री गौतमले बैठक राखेका हुन् । सरकारका दैनिक कामका साथै अत्यावश्यक निर्णय र कर्मचारीको वृत्ति विकास नरोक्न गौतमले कमान सम्हालेको खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले बताए ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको बैठकले द्वन्द्वग्रस्त इराकका केही सहरमा फसेका नेपाली नागरिकको उद्धारमा लाग्ने सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको छ । बैठकको निर्णयबारे जानकारी गराउदै सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले भने “यस कार्यका लागि परराष्ट्र मन्त्रालयका सहसचिव अर्जुनप्रसाद मैनालीको नेतृत्वमा एक टोली इराक पठाइसकिएको छ ।”
बैठकले पत्रपत्रिकालाई प्रदान गर्ने लोककल्याणकारी विज्ञापनमा विगत चार/पाँच वर्षदेखि करकट्टा नगरी वितरण गरिँदै आएको र आर्थिक वर्षको अन्त्यमा त्यसको कर कट्टा गर्न सम्भव नभएकाले त्यसमा देखिने बेरुजु मिनाहा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले दिगो सहरी विकासका लागि संयुक्त राष्ट्र मानव बस्ती कार्यक्रमबाट रु ९४ करोडको अनुदान लिने र खानेपानीका लागि विश्व बैंकबाट रु छ अर्ब सहायता लिने निर्णय गरेको प्रवक्ता डा रिजालले जानकारी दिए ।
त्यसैगरी सरकारले कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबाट अढाई अर्ब लिन वार्ता टोली गठन गर्ने निर्णय गर्नुका साथै नियमित सामान्य प्रकृतिका विदेश भ्रमण, सरुवा बढुवासम्बन्धी निर्णय गरेको युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले बताए । ‘प्रधानमन्त्रीको अनुपस्थितीका कारण नियमित काममा रोकावट नहोस र कर्मचारीको वृत्तिविकासमा समस्या नहोस भनेर बैठक राखिएको हो’ पौडेलले भने ।