काठमाडौं, श्रावण २७ - मलेसियामा नेपालीलाई अपहरण गरेर ३० लाख रुपैयाँ फिरौति माग्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तनहुँ पुर्कोट- ५ का ३२ वर्षीय कमलबहादुर गौलीलाई पक्राउ गरेको हो । भक्तपुर सुडाल- ८ का रामप्रसाद नेपाललाई जेठ ४ गते मलेसियाको कोत्राय भन्ने ठाउँबाट कमल बहादुर गौली लगायत मलेसियन र नेपालीसमेत ६ जना अपहरणकारीले अपहरण गरेका थिए ।
५ दिन सम्म आँखामा पट्टि तथा हात खुट्टासमेत बाँधी जंगलको बिच बस्तिको घरमा बन्धक बनाई नेपालमा पीडितका आफन्तसँग गौलीले ३० लाख रुपैयाँ फिरौति मागेका थिए ।
नेपाललाई बन्धक बनाई राखिएको बस्तीबाट सहरतर्फ लाने क्रममा गाडी दुरघटना भएपछि उनी भाग्न सफल भएका थिए ।
अपहरणका मुख्य योजनाकार गौलीलाई जिल्ला अदालत काठमाडौंमा अपहरण तथा शरीर बन्धक तथा सगंठानिक अपराधमा मुद्धा दर्ता गरी अनुसन्धान सुरु भएको ब्यूरोले जनाएको छ ।